काठमाडौं, कार्तिक १३ । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको छ । बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको यो लगातार दोस्रो हार हो । टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ५० ओभर खेली २ सय ३३ रनमा अलआउट भयो । नेपालको तर्फबाट कप्तान रोहित पौडेलले १०९ रन बनाएका थिए ।
रोहितबाहेक बिहीबारको खेलमा नेपालबाट कुशल भुर्तेल ७, आसिफ शेख ३५, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ६, करण केसी १३ रन बनाई आउट भएका थिए । गुलशन झाले खाता खोल्न सकेनन् ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।





