नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १४ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने समिति गठन गरिएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।

प्रधानमन्त्री कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज उक्त समिति गठनको निर्णय गरेकी हुन्। समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्यका रूपमा रहेका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्य–सचिव हुनेछन्।

समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ। नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमकै वरिष्ठतम् उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको रूपमा काम गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्