काठमाडौं, कार्तिक २७ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रा.लि.ले निर्माण गरेको संरचना भत्काएको छ।
स्काउटले बाँकी वक्यौता तिर्न गत कात्तिक २० गते उक्त कम्पनीलाई सात दिने सूचना जारी गरेको थियो। कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौं महानगरलाई पत्राचार गरेको थियो।
स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोली आज ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनको भनाइ थियो।
उक्त जग्गा नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जा मन्त्री दीपक खड्काको कम्पनीले कब्जा गर्दै आएको थियो।





