काठमाडौं, कार्तिक २७ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन २० अंकले गिरावट आएको सेयर बजार आज १ अंकले मात्रै बढेको हो।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक झिनो अंकले बढेसँगै आज २५४५ विन्दु नजिक पुगेको छ। सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकममा गिरावट आएसँगै आज जम्मा साढे तीन अर्ब बराबरको सेयर कारोबार भएको हो।
यस्तै, आज १२३ कम्पनीको सेयर मूल्य बढेको छ। यसविपरीत ११४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर बसेको छ।
आज चार कम्पनी माबिलुङ इनर्जी लिमिटेड, स्विट गंगा हाइड्रोपावर एण्ड कन्सक्र्टन लिमिटेड, सागर डिस्टिलरी र बुङ्गाल हाइड्रो लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ। यस्तै, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यता, नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेडको मूल्य सबैभन्दा बढी ५ प्रतिशतले गिरावट आएको छ। आज सबैभन्दा बढी कारोबार हिमालयन पावर पाटन्र्स लिमिटेडको भएको छ।





