काठमाडौं, कार्तिक २७ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सभामुख मण्डलले पदीय आचरण पालना नगरेको भन्दै प्रदेशसभामा रहेका सात दलले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
सो प्रस्तावमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
उक्त प्रस्तावमा सात दलले सभामुख मण्डलमाथि एक दलको निर्देशनमा पटक-पटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा सञ्चालन गरेकोलगायतका आरोप लगाएका छन् ।
“६४ जना प्रदेसभा सदस्यको समर्थनमा सभामुखले पदअनुकुल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा कार्यसञ्चालन नियमावली २०७५ को नियम १८० को उपनियम (१) बमोजिम पेश गर्दछौँ,” सो प्रस्तावमा भनिएको छ ।
सुरुमा यो प्रस्ताव दर्ता गर्न नदिन अवरोध सिर्जना गरिएको थियो । तर, त्यसलाई पार गर्दै सात दलले प्रस्ताव दर्ता गराएका हुन् ।





