काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले “चुनावका लागि गैरदलिय सरकार” को प्रतिवद्धता जनाइरहेकै बेला आफ्नै पहलमा पार्टी गठन गरी आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्रिपरिषद्मा राखिराख्नु सरकारको नैतिकतामाथि प्रश्न उठाइसकिएको छ।
यसै विषयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै यस्तो कदम प्रधानमन्त्रीको घोषणा र कार्यबीचको स्पष्ट विरोधाभास भएको टिप्पणी गरेका छन्।
पोखरेलले प्रश्न गरेका छन्,“यदि कुनै व्यक्तिले पार्टी खोलेर चुनाव लड्ने घोषणा गरिसकेको छ भने, त्यस्तो व्यक्तिले मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले कत्तिको उचित हुन्छ? प्रधानमन्त्रीको गैरदलिय सरकार बनाउने प्रतिवद्धतासँग के यो मेल खान्छ?”
उनको भनाइमा, यस्तो अवस्थाले निर्वाचनलाई निष्पक्ष बनाउने सरकारको दाबी नै शंकास्पद देखिएको छ।
पोखरेलले प्रधानमन्त्रीले तत्कालै कदम चाल्दै उक्त व्यक्तिलाई मन्त्री पदबाट मुक्त गर्नुपर्ने सुझावसमेत दिएका छन्।





