काठमाडौं, कार्तिक २८ । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।
अहिराजले आफूलाई थुनामुक्त गर्न माग गर्दै कात्तिक २३ गते दफा ७३ अन्तर्गत सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै साे आदेश दिएको हो।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। त्यसलगत्तै उनी डिल्लीबजार कारागार चलान भएका थिए। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले २०८२ भदौ १२ गते जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई सदर गरिदिएको थियो।
जिल्ला र उच्च अदालत दुवैको आदेश सदर भएपछि राजेश अहिराज (राजेश झा) ले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा मुद्दा दर्ता गरेकी थिइन्।





