काठमाडौँ, २९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ ।
दक्षिण कोरिया भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजनो साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गर्नुभयो ।
विदेशमा रहेका नेपालीको नेपाल बनोस, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गर्नुभयो ।
जेनजीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ ।साथै जेनजीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे ।
दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ । दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया जानुभएको हो ।
सञ्चारमन्त्री खरेलका साथमा उहाँका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया जानुभएको छ । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी ९एनआइए० सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
कोरियाको भ्रमण सकेर सञ्चारमन्त्री खरेल आज साँझ स्वदेश फर्कने तालिका छ ।रासस





