काठमाण्डौं, ३० कात्तिक । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहरुको बारेमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य–दृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महर्जनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ७९ पटक अत्याधुनिक दमकल परिचालन गरेको जानकारी दिनुभयो । उहाले आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रणमा ललितपुरको दमकलले गरेको सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा भइरहेको जिकिर गर्नुभयो ।
प्रमुख महर्जनले अहिले महानगरसंग फर्मसहितको अत्याधूनिक दमकल रहेको जानकारी दिनुभयो । उहाले विपद्को समयमा ललितपुरमा मात्रै सिमित नगरि अन्य जिल्लाहरुमा समेत दमकल परिचालन गरिएको बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले बिपद्का समयमा नजिकका नगरसंग सहकार्य गर्दै अघि बढ्न जरुरी भएको बताउनुभयो । आवश्यक परेको खण्डमा एउटा नगरको नगरप्रहरीलाई अर्को नगरमा परिचालन गर्नुपर्ने उहाको भनाइ छ ।





