संसद पुनस्र्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिन्छ : प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको घोषणापछि केही दलले संसद पुनस्र्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगमा दर्ता भएका दलसंग निर्वाचनका विषयमा छलफल गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा निर्वाचनबाट भाग्नुको विकल्प नहुने समेत बताउनुभयो ।

निर्वाचनको घोषणापछि पनि कुनै कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने उहाले बताउनुभयो । उहाले अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहो¥याउन खोजेको पुष्टि हुने बताउनुभएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको सबलीकरण निर्वाचनका लागि अनिवार्य शर्त रहेको बताउँदै आफू निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन, यसको सदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । छलफलमा सहभागी दलहरुले भने निर्वाचनको वातावरण अझै बन्न नसकेको धारणा राखेका थिए ।

छलफलमा सहभागी कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिकताको प्रश्न उठेपनि आफुहरु निर्वाचनमा जान तयार रहेको बताउनुभयो । उहाले निर्वाचनका लागि उचित वातावरण बनाउन नसकेकाले त्यसमा ध्यान दिन सुझाव दिएको उल्लेख गर्नुभयो ।

एमाले नेताहरुले सरकारले राजनीतिक दलहरुलाई निषेध गर्न खोजेको बताएका थिए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अराजकतालाई रोक्न आग्रह गर्दै सरकार र प्रतिनिधिसभा बिघटनको बैधानिकतामाथि प्रश्न उठाएको बताउनुभयो ।

त्यस्तै रास्वपा नेता गणेश पराजुलीले सरकारलाई सहयोग गर्न तयार रहेको र निर्वाचनको वातावरण बनाउन आग्रह गरिएको बताउनुभयो । उहाले सुरक्षालाई देखाउदै निर्वाचनबाट भाग्न खोज्नु उचित नभएको उल्लेख गर्नुभयो ।

त्यस्तै अन्य दलका नेताहरुले दलहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका थिए । सर्वदलीय छलफलमा निर्वाचन आयोगमा दर्ता भएका कांग्रेस, एमाले माओवादी लगाएत दलका नेताहरुको उपस्थीति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्