काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बीपी स्मृति भवनमा बस्न लागेको हो ।
गत असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुबीच छलफल हुनेछ । अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।





