निर्वाचनमा भाग लिने दलको सङ्ख्या ४० पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ६ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ४० पुगेको छ । निर्वाचन आयोगका अनुसार बिहीबारसम्म ३३ वटा दल दर्ता भएकोमा शुक्रबार थप ७ दल दर्ता भएका छन् ।

शुक्रबार दर्ता हुने दलमा रुक्मिणी चौधरी नेतृत्वको संघीय नेपाल पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, दिनेशराज प्रसाई नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, कृष्णकुमार राई नेतृत्वको नेपाली जनश्रमदान संस्कृति पार्टी छन् ।

यस्तै, कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, भूपी राई नेतृत्वको राष्ट्रिय साझा पार्टी र रमेश नाल्भो नेतृत्वको परिवर्तन पार्टी पनि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल र पाँचौ दिन ५ गते ७ दल दर्ता भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्