काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेका छन्।
प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो।
भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिएका थिए। उनले भने, “जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ।” श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंसिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गरेको जनाइएको छ।





