एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २७ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार शरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो।

११औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ। जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा शुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ। उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य र् याली गरी आउने व्यवस्थासमेत गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्