काठमाण्डौ, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदैछ । हिजो भक्तपुरस्थित सल्लाघारीमा जनसहभागिता र शक्ति प्रदर्शनसहित एमालेको ११औँ महाधिवेशन उद्घाटन भएको थियो । नयाँ नेतृत्व चयनका लागि आज बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ ।
देशभरबाट छानिएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र ७ जना सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन गर्नेछ । सहमतिमै नेतृत्व चयनको प्रयास र त्यो नभए मतदानमार्फत नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाइसकेको छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । दुवै नेताले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । दुवैले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव लगायत पदाधिकारीको प्यानल बनाउने गृहकार्य थालेका छन् ।





