काठमाण्डौं, २९ मंसिर । एमाले ११औँ महाधिवेशन नजिकिँदै गर्दा संगठन, संसद र सरकार तीनवटै क्षेत्रमा अनुभव हासिल गरेका नेता लीलानाथ श्रेष्ठको चर्चा पार्टीभित्र तीव्र बन्दै गएको छ। मधेश प्रदेशको राजनीतिमा सशक्त उपस्थिति बनाएका श्रेष्ठ हाल केन्द्रिय राजनीतिमा समेत प्रभावशाली भूमिकामा रहनुभएको छ।
विद्यार्थी राजनीतिमा संघर्ष, जेल जीवन, संगठन विस्तार र शासन सञ्चालनको अनुभव एउटै नेतामा हुनु दुर्लभ मानिन्छ। लीलानाथ श्रेष्ठ यही विशेषताका कारण महाधिवेशनमा चर्चामा रहनुभएको विश्लेषकहरूको भनाइ छ। २०६३ सालमा सिराहा जिल्ला कमिटीको सचिव बनेपछि पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने काममा उहाँ अग्रसर रहनुभयो। २०६७ सालमा जिल्ला अध्यक्ष निर्वाचित हुँदा जिल्लामा एमालेको सांगठनिक हैसियत थप सुदृढ भएको कार्यकर्ताहरू सम्झन्छन्।
केन्द्रीय राजनीतिमा प्रवेशपछि पनि श्रेष्ठले क्षेत्रीय सन्तुलन, संगठनात्मक अनुशासन र नीतिगत स्पष्टतालाई जोड दिँदै आउनुभएको छ। हाल मधेश प्रदेश इन्चार्जको भूमिकामा उहाँले पार्टी संरचना मजबुत बनाउन सक्रिय भूमिका खेल्दै आउनुभएको छ।
महाधिवेशनलाई लक्षित गर्दै श्रेष्ठले सार्वजनिक रूपमा कुनै पदको दाबी नगरे पनि पार्टीले आवश्यक ठाने जिम्मेवारी लिन आफू सधैँ तयार रहेको स्पष्ट सन्देश दिँदै आउनुभएको छ। यही परिपक्व राजनीतिक दृष्टिकोणले उहाँलाई महाधिवेशनको चर्चित अनुहार बनाएको देखिन्छ।





