चूनावमा निर्धक्क भएर सहभागी हुन दललाई सरकारको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ९ पौष । सरकारले चूनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिले बुधबार जनमत पार्टीसंग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।

छलफलका क्रममा जनमतका नेताहरुले आफुहरु निर्वाचनमा जान तयार भएको र सुरक्षा लगाएतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।

छलफलपछि उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चूनावको वातावरण बनाउन राजनीतिक दलका कार्यलय पुगेर छलफल गरेको बताउनुभयो । उहाले सरकारको तर्फबाट चूनावको तयारी अगाडी बढाउन जनमतका नेताहरुले सुझाव दिएको उल्लेख गर्नुभयो ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चूनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक बिषय भएको बताउनुभयो ।

आफुहरु चूनावमा जान तयार रहेको र सुरक्षा लगाएतका सवै तयारीमा गम्भीर भएर लाग्न आफुले सरकारलाई सुझाव दिएको उहाले जानकारी दिनुभयो ।

अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशंका गर्नुपर्ने ठाँउ नदेखिएको जिकिर गर्नुभयो । उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो ।

दलहरु र सरोकारसंग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्