काठमाडौं, १० पौष । बुधबारदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकमा महाधिवेशनको मिति सार्ने कि तोकिएकै मितिमा गर्नै भन्ने विषयमा टुंगो लाग्न नस्केपछि बैठक आज पनि बस्ने भएको हो ।
आज दिउँसो १ बजे बस्ने छ । १५औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न कठिन देखिएपछि बैठक बुधबार बसेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशन सार्नु पर्ने माग गरेका छन्।
संस्थापन पक्षका नेता महाधिवेशन सार्ने रणनीतिमा लाग्दा इतर पक्ष भने तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने अडानमा छ। कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म महाधिवेशनको मिति तोकेको छ।
बैठकपछि बोल्दै महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिकामा रहेको वडा अधिवेशन पुस १६ गतेदेखि २१ गते सारी तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेको बताए।
यस्तै महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई शक्ति अभ्यासको लालसा त्याग्न चेतावनी समेत दिएका छन्। मिति घोषणा गरेर मात्रै महाधिवेशन नहुने भन्दै थापाले त्यसका लागि तयारीमा लाग्नुपर्ने थापाको भनाइ छ।





