काठमाण्डौं, १६ पुस । नेपाल ह्याचरी उद्योग संघको केन्द्रीय सदस्यमा बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका–५ निवासी नारायण गिरि निर्वाचित हुनु भएको छ। पौष ११ गते शुक्रबार काठमाडौँमा सम्पन्न संघको १९ औँ साधारण सभा तथा अधिवेशनले ह्याचरी उद्योग संघको नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट संघको अध्यक्षमा नवलपुरका राजेन्द्र लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा भक्तपुरका डा. बलराम किसी, प्रथम उपाध्यक्षमा ललितपुरका बलराम सञ्जेल र द्वितीय उपाध्यक्षमा चितवनका ज्ञान बहादुर बिसुराल चयन भएका छन् । यस्तै, महासचिवमा बाराका नवराज पौडेल, कोषाध्यक्षमा चितवनका परशुराम अधिकारी तथा सचिवमा कैलालीका विवेक भट्ट निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय कार्यसमिति सदस्यहरूमा मेचीनगर–१० धुलाबारीका निरौला विष्णु प्रसाद रिमाल (नुवाकोट), कपिलबाबु खनाल (चितवन), रिजवान अहमद (पर्सा), नारायण गिरि (काठमाडौँ), मोती प्रसाद पौडेल (कास्की) र हरिकृष्ण खनाल (चितवन) निर्वाचित भएको जानकारी दिए ।
नवनिर्वाचित सदस्य नारायण गिरिले ह्याचरी तथा पोल्ट्री उद्योगलाई अझ व्यवस्थित, वैज्ञानिक र व्यवसायमैत्री बनाउने दिशामा आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले किसान, ह्याचरी व्यवसायी र सरोकारवाला निकायबीच समन्वय गर्दै उद्योगका समस्या समाधान तथा दिगो विकासका लागि काम गर्ने बताए ।

नेपालको पोल्ट्री उद्योग देशको कृषि अर्थतन्त्रको एक महत्वपूर्ण खम्बाको रूपमा स्थापित हुँदै गएको छ। कुखुरा पालन, अण्डा तथा मासु उत्पादनमार्फत लाखौँ किसान तथा उद्यमीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध छन्। पोल्ट्री उद्योगले पोषणयुक्त प्रोटिनको आपूर्ति गर्दै आम नागरिकको खाद्य सुरक्षामा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
पछिल्ला वर्षहरूमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक ह्याचरी सञ्चालन, दाना उद्योगको विकास तथा बजार व्यवस्थापनमा सुधारसँगै पोल्ट्री उद्योग थप संगठित र प्रतिस्पर्धी बन्दै गएको छ। नेपाल ह्याचरी उद्योग संघले व्यवसायीहरूको हकहित संरक्षण, गुणस्तरीय चल्ला उत्पादन, रोग नियन्त्रण, तालिम तथा नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्दै उद्योगको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
नयाँ कार्यसमितिको चयनसँगै ह्याचरी तथा पोल्ट्री उद्योगलाई थप सुदृढ, आत्मनिर्भर र आधुनिक बनाउने अपेक्षा गरिएको छ।





