काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि औपचारिक आह्वान गरेका छन्।
बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले महाधिवेशन प्रतिनिधिहरूबाट उठाइएको विशेष महाधिवेशनको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै पुस २७ र २८ गते तय गरिएको विशेष महाधिवेशन कानुनी तथा राजनीतिक रूपमा अपरिहार्य र बाध्यकारी भइसकेको बताएका छन्।
वक्तव्यमा भनिएको छ, “पुस २८ भित्र विशेष महाधिवेशन गरिनुपर्ने माग महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार हो। विधानबमोजिम बाध्यकारी विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु र जिम्मेवारीअनुसार काम नगर्नु पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी कानूनविपरीत हुन्छ।”
महामन्त्रीद्वयले विधान र कानूनअनुसार तोकिएका जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य भएको उल्लेख गर्दै लोकतान्त्रिक पार्टीका जिम्मेवार पदाधिकारीको हैसियतले यो वैधानिक तथा नैतिक दायित्व भएको स्पष्ट पारेका छन्। “हामीले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ र गर्नेछौं,” वक्तव्यमा उल्लेख छ।
नेपाली कांग्रेसको विधानको धारा १७(२) तथा सम्बन्धित कानुनी प्रावधानहरू आत्मसात् गर्दै २०८२ साल पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई व्यवस्थित, भव्य र सफल बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
“विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि र बदलिनुपर्ने देशका लागि हो,” वक्तव्यमा भनिएको छ। साथै, जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एकताबद्ध राख्न आफूहरू दृढ र प्रतिबद्ध रहेको महामन्त्रीद्वयले जनाएका छन्।





