काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुन लागेको निर्वाचन आचारसंहिताबारे आज जानकारी गराएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयुक्तहरू तथा उच्च अधिकारीहरूको टोलीले प्रधानमन्त्री निवासमा पुगेर निर्वाचन आचारसंहिता, निर्वाचन व्यवस्थापन र तयारीका विविध पक्षबारे छलफल गरेको हो।
भेटका क्रममा आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ। साथै निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचन सम्पन्न गर्न सरकार र सम्बन्धित निकायहरूको सहकार्य आवश्यक रहेको विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।
उक्त भेटमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।





