काठमाडौँ : काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि बाँनियाले देशको समग्र आर्थिक विकासका लागि ढुवानी व्यवसायलाई प्रभावकारी र व्यवस्थित बनाउनु अपरिहार्य रहेको बताए। ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले गम्भीर समस्या भोग्नुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रको सुदृढीकरणका लागि स्थानीय सरकारलाई समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
मुख्यमन्त्री बाँनियाले ‘जेन्जी आन्दोलन’का क्रममा पूर्णरूपमा ध्वस्त भएका सवारी साधनलाई चालु आर्थिक वर्षमा कर छुट दिने निर्णय गरिएको जानकारी पनि दिए।
उनले भने, “आजको विश्वमा ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले धेरै कठिनाइको सामना गर्नुपरेको छ। प्रभावकारी ढुवानी व्यवस्थाले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई तीव्रता दिन सक्छ। त्यसैले ढुवानी व्यवसाय राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण र अपरिहार्य छ। यस क्षेत्रले भोगिरहेका समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्दै जानुपर्छ।”
संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसायलाई देशको ‘मेरुदण्ड’को रूपमा व्याख्या गर्दै संघले दुर्गम तथा ग्रामीण क्षेत्रसम्म समयमै सामान पुर्याउने उद्देश्यसहित कार्य गर्दै आएको बताए। उनले संस्थाले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जानकारी गराए।
साथै, सामान ओसारपसारका क्रममा ढुवानी व्यवसायीहरूले अनावश्यक दुःख झेल्नुपरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सरकारसँग स्पष्ट, एकीकृत र व्यवहारिक ढुवानी ऐन तथा कार्यविधि सुनिश्चित गर्न माग गरे।
कार्यक्रममा बागमती प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीलगायत वक्ताहरूले ढुवानी व्यवसायलाई थप मर्यादित, सुरक्षित र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।










