काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बैठकले गरेका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।
निर्णयहरूमा कर्मचारी सरुवा र बढुवा, विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा बैठकमा सहभागिताका लागि भ्रमण स्वीकृति, नीति स्वीकृति, नियुक्तिलगायत विषय समेटिएका छन्।
प्रवक्ता खरेलका अनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जनालाई प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय गरेको छ।
यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्ट (IFAD) को ४९ औँ गभर्निङ काउन्सिल बैठकमा सहभागी हुन स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू यसप्रकार छन् :
२०८२ माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई सन् २०२४ को वार्षिक योगदानस्वरूप अमेरिकी डलर २ लाख ८३ हजार ५ सय ३ भुक्तानी गर्न स्वीकृति दिने।
मेक्सिकोमा आयोजना हुने FATF को AML/CFT प्लेनरी बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई स्वीकृति दिने।
वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–२०८६/८७) स्वीकृत गर्ने।
चीनको सिजाङ (ल्हासा) मा हुने नेपाल–चीन सीमा व्यापार तथा सहकार्य संयन्त्रको तेस्रो बैठकमा उद्योग मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने।
म्यानमारमा हुने तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकका रूपमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारलाई पठाउने।
२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया बौद्ध पगोडा र गंगाघाट मन्दिर पुनःनिर्माणका लागि अमेरिकी डलर ३ लाख ५० हजार सहयोग दिने।
मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने।
समस्याग्रस्त संस्था व्यवस्थापन समितिमा मधुकर रानालाई मनोनयन गर्ने।
नेपाली सेनाका ३ महासेनानीलाई सहायक रथीमा बढुवा र २ जनाको सरुवा गर्ने।
मोरक्को, स्पेन, स्वीट्जरल्याण्डलगायत देशमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा मेलामा सम्बन्धित मन्त्रालयका सचिवहरूलाई सहभागी हुन स्वीकृति दिने।
दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने।
इलाम, सोलुखुम्बु, बाजुरा र मुगुमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने।
गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गर्ने।
सरकारले प्रशासनिक सुधार, अन्तर्राष्ट्रिय सहकार्य विस्तार र नीति निर्माणलाई केन्द्रमा राखेर निर्णयहरू गरेको प्रवक्ता खरेलले बताउनुभयो।




