काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।
यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दर्ता भएका अभियोगपत्र संशोधन गरी संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणका आरोप फिर्ता लिइनेछन्।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने स्पष्ट पारेकी छन्। उनले संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग मात्रै हटाउने गरी अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको बताइन्।
महान्यायाधिवक्ताले बुधबार चार वटा जिल्ला अदालतमा चलिरहेका मुद्दामा अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी हुन्। यसअनुसार कास्की जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता हुनेछ भने रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराधसम्बन्धी मुद्दा पनि फिर्ता लिइनेछ।
तर, चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कुनै मुद्दा दर्ता नभएकाले त्यहाँ अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको छैन।





