नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे बस्ने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। पार्टीभित्र देखिएको आन्तरिक कलहका कारण यसअघि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सानेपाबाहिर विभिन्न स्थानमा बैठक गर्दै आएको थियो।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई औपचारिक मान्यता दिनुका साथै सर्वोच्च अदालतले पनि थापा नेतृत्वविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि केन्द्रीय कार्यालयमै बैठक बस्न लागिएको हो।
भोलिको बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा घोषणा गर्ने तयारी रहेको पनि प्रवक्ता चालिसेले बताए।




