काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध दायर रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले सम्बन्धित कागजात प्राप्त भएपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने जनाएको छ।
लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ तथा ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
उक्त रिटको सुनुवाइ आइतबार भएको हो। अदालतको आदेशअनुसार अब सम्बन्धित सक्कल कागजात संकलन भएपछि मुद्दाको आगामी प्रक्रिया अघि बढ्नेछ।





