फागुन २१ को चुनाव नजिकिँदै, रोल्पामा प्रचार–प्रसार तीव्र:रास्वपाका थापा माडीमा श्रमदान गर्दै जनतामाझ

रोल्पामा फागुन २१ प्रतिनिधिसभा निर्वाचन : नयाँ–पुरानाबीच रोचक भिडन्त

ओमसरा घर्तिमगर रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१८ माघ, काठमाडौं : एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पामा यतिबेला प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र बन्दै गएको छ ।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रचार–प्रसारमा सक्रिय बनेका छन् भने मतदाताबीच पनि चासो बढ्दै गएको छ । यसपटक रोल्पामा हुने चुनावी प्रतिस्पर्धा अघिल्ला निर्वाचनभन्दा फरक र निकै रोचक हुने देखिएको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट जम्मा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

तीमध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि अहिले १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । मुख्य दलका प्रभावशाली उम्मेदवारदेखि नयाँ शक्ति र साना दलका उम्मेदवारसम्मको उपस्थितिले रोल्पाको चुनावी माहोल थप चर्किएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ तारा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् । रोल्पालाई आफ्नो राजनीतिक आधार क्षेत्र बनाउँदै आएका पुन यसपटक पनि बलियो दाबेदारका रूपमा देखिन्छन् । त्यस्तै नेकपा ९एमाले० का तर्फबाट गोकुलप्रसाद घर्तीमगर सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् भने नेपाली कांग्रेसका तर्फबाट डा। सुदनकुमार ओली रुख चुनाव चिन्हसहित मैदानमा होमिएका छन् ।

इतिहास हेर्दा रोल्पामा नेपाली कम्युनिष्ट पार्टी बलियो दलको रूपमा रहँदै आएको छ भने कांग्रेस र एमाले क्रमश,दोस्रो र तेस्रो स्थानमा सीमित हुँदै आएका छन् । तर यसपटकको चुनावी कथा भने फरक मोडमा पुगेको छ ।

यस क्षेत्रको चुनाव यसपटक नयाँ र पुरानाबीचको टक्करको रूपमा देखिएको छ ।

यसपटक विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पामा आक्रामक प्रचार थालेपछि चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

रास्वपाले घण्टी चुनाव चिन्हमा बालाराम थापालाई उम्मेदवार बनाएको छ । थापा अहिले गाउँ–गाउँ पुगेर घरदैलो तथा चुनावी प्रचारमा सक्रिय छन् । हालै उनले रोल्पाको माडी गाउँपालिका वडा नं. १ तुसारपानीमा स्थानीय जनतासँगै श्रमदानसमेत गर्दै जनताको मन जित्ने प्रयास गरेका छन् । रास्वपाको सक्रियताले परम्परागत दलका मतदातामाझ समेत प्रभाव पारेको देखिन्छ ।

यस्तै नेकपा (माओवादी) बाट चुडामणी वली ‘आदर्श’ गोलो घेराभित्र दुई पात भएको कमलको फूल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट मेघबहादुर विष्टले गिलास चिन्ह लिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अमरबहादुर थापाले हलो चुनाव चिन्ह संगै यसपटक उनीहरु स्वयं दाबेदारसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट कुमार घर्तीमगर कुखुराको भाले चिन्हसहित चुनावी प्रतिस्पर्धामा छन् । नेशनल रिपब्लिक नेपाल पार्टीबाट मनबहादुर घर्तीमगरले उडिरहेको माहुरी चिन्ह,आम जनता पार्टीबाट दीलबहादुर कामी मोबाइल चुनाव चिन्हसहित यसपटक उनीहरु स्वयं दाबेदारसँग प्रतिस्पर्धा गर्नेछन्।

विभिन्न विचारधारा, पृष्ठभूमि र राजनीतिक इतिहास बोकेका उम्मेदवारहरू एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिँदा रोल्पाको चुनाव निकै रोचक बन्ने देखिएको छ । मतदाताले यसपटक कसलाई विश्वास गर्नेछन् भन्ने चासो बढिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्