निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, २१ माघ । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ८० हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षाका निम्ति परिचालित भएको छ । त्यसअन्तर्गत आजैदेखि देशभरिका विमानस्थल तथा कारागार कार्यालयको सुरक्षा व्यवस्थापन सेनाले गर्ने भएको छ । त्यहाँ नियमित रुपमा तैनाथ हुने नेपाल प्रहरी र सशस्त्रका विशेष किसिमका ड्युटी जारी रहने र बाँकी सबै सुरक्षा व्यवस्थापन सेनाले गर्ने उनले बताए ।

देशभरिका प्रमुख सडकमा सेनाले आजैबाट गस्ती शुरु गरेको छ । प्रवक्ता बस्नेतका अनुसार विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरेर पैदल गस्ती शुरु गरिएको हो ।

मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्