काठमाडौं : बाँके निर्वाचन क्षेत्र नम्बर ३ का जेन्जी युवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनलाई विजयी गराउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिमा क्षेत्रको समृद्धि, विकास र सुशासनका लागि पुन उपयुक्त उम्मेदवार रहेको उनीहरूको भनाइ छ।
खजुराका आदित्य सुनारले बाँके–३ मा नेपाली कांग्रेसका नेताहरूले विगतमा थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि कांग्रेस उम्मेदवार अमर सिंह पुनलाई जिताउनुपर्ने बताए। जेन्जी युवाको भावना र अपेक्षालाई सम्बोधन गर्न सक्ने पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ छ।
उनले भने, “नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीको कार्यकालमा विकास निर्माण र आर्थिक सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएका छन्। त्यसैले बाँके–३ को निरन्तर विकासका लागि कांग्रेस उम्मेदवार अमर सिंह पुन आवश्यक छन्।”
त्यस्तै, अर्का जेन्जी युवा सौरभ रानाले पनि आफूहरूको रोजाइको नेता अमर सिंह पुन भएको स्पष्ट पारे। जेन्जी आन्दोलनको मूल मर्म आर्थिक सुशासन, भ्रष्टाचारको अन्त्य र समृद्धि रहेको उल्लेख गर्दै उनले बेरोजगारी जस्ता युवाका मुख्य समस्यालाई कांग्रेस नेतृत्वले सम्बोधन गर्दै आएको बताए।
रानाले भने, “जेन्जी आन्दोलन देशलाई सही दिशामा लैजानका लागि हो। युवाको आवाज बुझ्ने, कठिन अवस्थामा पनि देशलाई निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस हो। सभापति गगन थापाले युवाका मुद्दालाई प्राथमिकतामा राखेर उठाउनुभएको छ।”
बाँके क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। पुनले नेपाली कांग्रेस जेन्जी युवाको सपना पूरा गर्ने पार्टी भएको दाबी गर्दै जेन्जी आन्दोलनलाई गलत अर्थ र गलत प्रयोजनमा प्रयोग गर्ने प्रयास भइरहेकोप्रति सचेत गराए।
उनले भने, “जेन्जीको जोश र उत्साह देशको समृद्धि र विकासका लागि प्रयोग हुनुपर्छ। जेन्जी आन्दोलनको नाममा सरकारी संरचना ध्वस्त हुँदा प्रत्यक्ष मार जनताले नै भोग्नु परेको छ। सकारात्मक मुद्दालाई दबाउने प्रयास भइरहेको छ, यसमा युवा सचेत हुन जरुरी छ।”
जेन्जी युवाले आफ्नो धारणा सार्वजनिक गरेकोमा धन्यवाद दिँदै पुनले बाँके–३ का अधुरा विकास योजनाहरू पूरा गर्ने र क्षेत्रको समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।





