काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कुलमान घिसिङ र उनको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीको चुनावी सम्भावना यतिबेला चर्को बहसको विषय बनेको छ।
व्यक्तिगत लोकप्रियता र ‘उज्यालो अभियान’ का कारण घिसिङप्रति जनआकर्षण रहे पनि समग्र चुनावी गणितले भने पार्टी एक सिटमै सीमित हुन सक्ने संकेत देखाएको छ।
नयाँ शक्तिका रूपमा उदाएका उज्यालो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको प्रतिस्पर्धाले मत विभाजन हुने र त्यसको प्रत्यक्ष फाइदा पुरानै दल-नेपाली कांग्रेस वा एमाले-लाई पुग्ने अवस्था सिर्जना हुने राजनीतिक विश्लेषकहरूको आकलन छ।
काठमाडौँ–३ मा रास्वपाबाट उम्मेदवार बनेका राजु पाण्डेले कुलमान घिसिङलाई प्रत्यक्ष रूपमा चुनौती दिने अनुमान गरिएको छ। दुवै वैकल्पिक धारका उम्मेदवारबीच मत बाँडिँदा अन्ततः कांग्रेस वा एमालेका उम्मेदवार लाभान्वित हुने सम्भावना बलियो देखिएको छ।
विशेषतः रास्वपाको बढ्दो लहर, संगठित प्रचार संयन्त्र र स्पष्ट चुनावी चिन्हका कारण उज्यालो पार्टीका लागि काठमाडौँ–३ मा प्रतिस्पर्धा झनै कठिन बन्दै गएको देखिन्छ।
रास्वपासँग एकता गरेको १२ दिनमै सम्बन्ध विच्छेद भएपछि उज्यालो पार्टीको संगठनात्मक तयारीमा गम्भीर असर परेको छ। एकता विवादका कारण उम्मेदवार छनोट प्रक्रिया प्रभावित हुँदा पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये १२१ क्षेत्रमा मात्र उम्मेदवार उठाउन सकेको छ।
उम्मेदवार छनोटमा भएको ढिलाइका कारण समानुपातिक उम्मेदवारको सूची पनि हतारहतार टुंग्याउनुपरेको थियो। रास्वपासँगको एकताका क्रममा केही समानुपातिक उम्मेदवार उतै नै बसेपछि, निर्वाचन आयोगमा सूची बुझाउने समय घर्किसकेको अवस्थामा उज्यालो पार्टीले नेपाल परिवर्तन पार्टीसँग एकता गरी बाँसुरी चिन्ह समानुपातिकतर्फ सापटी लिनुपर्ने बाध्यता आयो।
यसले पार्टीको पहिचान, चुनावी चिन्ह र सन्देशमा थप अन्योल सिर्जना गरेको छ। आम मतदातामाझ अझै पनि रास्वपासँग एकता भएको पुरानो सूचना कायम रहेकाले कुलमान घिसिङका समर्थकसमेत घण्टी चिन्हमै मत दिने सम्भावना देखिएको छ। धेरै मतदातालाई कुलमान घिसिङ रास्वपाबाट अलग भइसकेको पछिल्लो अवस्था स्पष्ट नभएको पाइएको छ।
प्रत्यक्षतर्फ चिम चिन्ह र समानुपातिकतर्फ बाँसुरी चिन्ह प्रयोग गर्नुपर्दा मतदाता थप अलमलमा पर्ने जोखिम पनि देखिएको छ। यो भ्रम चिर्न उज्यालो पार्टीलाई प्रचार अभियानमै अत्यधिक मेहनत गर्नुपर्ने चुनौती रहेको विश्लेषकहरू बताउँछन्।
समग्र राजनीतिक अवस्था, संगठनात्मक कमजोरी, मत विभाजन र मतदाता भ्रमका कारण उज्यालो पार्टी कुलमान घिसिङको व्यक्तिगत सिट बाहेक अन्यत्र उल्लेखनीय सफलता हासिल गर्न कठिन अवस्थामा पुगेको विश्लेषण गरिएको छ।
रास्वपाको बढ्दो प्रभाव, कांग्रेस–एमालेको स्थायी संगठन र उज्यालो पार्टीको आन्तरिक अन्योलका कारण उज्यालो पार्टी एक सिटमै सीमित हुने सम्भावना बलियो बन्दै गएको देखिन्छ। नयाँ भनिएका शक्तिबीचको प्रतिस्पर्धाले वैकल्पिक राजनीतिलाई बलियो बनाउनेभन्दा पनि पुरानै दललाई अप्रत्यक्ष रूपमा लाभ पुर्याउने अवस्था सिर्जना भएको विश्लेषकहरूको ठहर छ।





