जेन्जीका सकारात्मक माग पन्छाउने शक्तिसँग चुनावी मैदानमा छौं : अमर सिंह पुन

जेन्जीआन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः पुन

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई ओझेलमा पारेर निहित स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरू सक्रिय रहेको बताएका छन्।

बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पुनले जेन्जी आन्दोलनमा घुसपैठ गरी युवाहरूका मागलाई अलमल्याउने प्रयास भइरहेको दाबी गरे। युवासँगको संवाद कार्यक्रममा उनले देशका वास्तविक समस्या समाधान गर्ने सामर्थ्य नेपाली कांग्रेससँग रहेको उल्लेख गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।

उनले भने, “जेन्जीका सकारात्मक मागलाई पन्छाउन खोज्ने, घुसपैठ गर्ने र देशमा अस्थिरता सिर्जना गर्ने शक्तिसमेत निर्वाचनमा प्रतिस्पर्धामा छन्। हामीले आफ्ना आन्तरिक समस्या व्यवस्थापन गर्दै देशको नेतृत्व गर्न सक्षम शक्ति बन्नुपर्छ।”

नेपाली जनताको अधिकार स्थापना गर्न कांग्रेसका नेताहरूले गरेको बलिदानी स्मरण गर्दै पुनले जेन्जी आन्दोलनका सकारात्मक पक्षलाई आत्मसात गर्दै देश निर्माणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार जेन्जी युवाले खोजेको रोजगारी र समृद्धिको सपना पूरा गर्ने संकल्पसहित कांग्रेस अघि बढिरहेको छ। उनले आम मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपिल गरे।

बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुनले उक्त क्षेत्रका समस्याहरू नीतिगत रूपमा समाधान गर्न पहल गर्ने बताए।

नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताको जग्गा बैंकले धितोका रूपमा स्वीकार नगर्ने समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने उनले उल्लेख गरे।

सम्बन्धित पक्षसँग समन्वय गरी सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधानका लागि दबाब मूलक पहल गर्ने पुनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्