काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिँदै पार्टी सभापति गगन कुमार थापाले प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको हो।
‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नाम दिइएको कार्यक्रम आज बिहीबार दिउँसो १ बजेदेखि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। कार्यक्रममा सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रका मुख्य बुँदाको संक्षिप्त प्रस्तुति दिने र त्यसपछि देश–विदेशबाट प्राप्त प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रविधिको प्रयोगमार्फत संसारभरिबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रम स्थलमा उपस्थित सहभागीहरूबाट पनि प्रश्न लिइने र त्यसको जवाफ सभापति थापाले दिने तयारी गरिएको जनाइएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने लक्ष्यसहित आगामी पाँच वर्षका लागि गर्ने योजना प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ। उक्त प्रतिज्ञापत्रका विषयमा आम नागरिकले जिज्ञासा राख्न र प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ।
चुनावी घोषणापत्रका विषयमा नागरिकले सार्वजनिक रूपमा प्रश्न गर्ने र सम्बन्धित दलका शीर्ष नेताले प्रत्यक्ष जवाफ दिने अभ्यास नेपालमा पहिलोपटक हुन लागेको कांग्रेसको दाबी छ।





