मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविधि

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन दुई सातामात्र बाँकी रहँदा निर्वाचन आयोग नेपाल मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न सक्रिय बनेको छ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित, पारदर्शी र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको जनाएको छ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३को दफा ४४ अनुसार तयार पारिएको उक्त कार्यविधिले स्थायी मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदातालाई समावेश गर्ने तथा विवरण सच्याउने प्रक्रिया स्पष्ट गरेको आयोगले जनाएको छ।

आयोगले आवश्यक कार्यक्रमसहित सूचना प्रकाशन गर्ने र त्यसलाई राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण गर्ने व्यवस्था पनि मिलाएको छ। कार्यविधिअनुसार नेपाल सरकार तथा प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी तथा संवैधानिक निकायका पदाधिकारीको नाम स्थायी मतदाता सूचीमा समावेश गरिनेछ।

आयोगले कुनै नागरिकको नाम छुटेको वा विवरणमा त्रुटि देखिएमा प्रमाणसहित सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन आग्रह गरेको छ।

आयोगका अनुसार अद्यावधिक र त्रुटिरहित मतदाता सूचीले निर्वाचनको विश्वसनीयता, पारदर्शिता र नागरिक सहभागिता दुवैलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्