काठमाडौं । काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडकखण्डमा पैदल यात्रीमाथि हातपात तथा दुव्र्यवहार गर्ने सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइएको छ।
उक्त घटनापछि सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा एआईबाट सिर्जित श्रव्य–दृश्य सामग्रीसमेत प्रसारण भएको विषयमा प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ। परिसरले यस्ता अपुष्ट र भ्रामक सामग्रीले अनुसन्धान प्रक्रियामा असर पार्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।
प्रवक्ता भट्टराईका अनुसार अनुसन्धान भइरहेको विषयमा गलत वा भ्रामक सामग्री प्रसारण गर्ने कार्य स्वयं पुनः अनुसन्धानको विषय बन्न सक्छ। त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक जवाफदेहिता र कानुनी दायित्वको ख्याल गर्न सबैलाई अनुरोध गरिएको छ।
परिसरले नागरिकहरूलाई कानुन पालना गर्न र अपुष्ट सूचना फैलाउनबाट जोगिन सचेत गराएको छ।





