काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरी दिवस मनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा झाँकी, मार्चपास, सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो। बिहीबार बिहान आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित सहभागी भएका थिए। समारोहमा नेपाली सेनाले राष्ट्रपतिलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
दिवसका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।





