समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ, सुशासन र झन्झटरहित प्रणालीको घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । समाज कल्याण परिषद् ले आफ्नो सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै औपचारिक शुभारम्भ गरेको छ। ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले वेबसाइटको रिमोट उद्घाटन गर्दै डिजिटलाइजेसन सेवाको सुरुवात गरिन्।

नयाँ प्रणालीमार्फत विकाससम्बन्धी परियोजना, गैरसरकारी संस्थाहरूको विवरण र कार्यक्रमहरूलाई वर्गीकृत रूपमा अनलाइन हेर्न सकिने व्यवस्था गरिएको छ। हाल परिषद्मा ५८ हजारभन्दा बढी गैरसरकारी संस्था आवद्ध रहेका छन्। अब उनीहरूले पेश गर्ने परियोजनाका फाइलहरू प्रविधिमैत्री ढंगले दर्ता, स्वीकृति र अनुगमन गर्न सकिनेछ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रिय आवश्यकता र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई आग्रह गर्दै डिजिटल प्रणालीले सुशासन प्रवर्द्धन र झन्झटरहित सेवा प्रवाहमा टेवा पुर्‍याउने बताइन्।

मन्त्री श्रद्धा श्रेष्ठले डिजिटल प्रणालीले प्रशासनिक लागत र समय उल्लेख्य रूपमा घटाउने तथा स्वविवेकीय निर्णयका कारण हुने ढिलाइ अन्त्य गरी पारदर्शिता कायम गर्न सहयोग गर्ने दाबी गरिन्।

त्यसैगरी, गैरसरकारी संस्था महासंघ नेपाल का अध्यक्ष अर्जुन भट्टराईले लामो समयदेखि उठाउँदै आएको डिजिटलाइजेसनको माग पूरा भएको भन्दै सरकारप्रति आभार व्यक्त गरे। उनले सबै पालिकामा एकरूप नीति लागू गर्न सरकारलाई आग्रहसमेत गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्