विराटनगर । नेपाली काँग्रेस का उपसभापति विश्वप्रकाश शर्माले नेपाली राजनीतिको सबैभन्दा ठूलो चुनौती संस्कार र शैली परिवर्तन रहेको बताएका छन्। सुनसरीको झुम्कामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धा गालीगलौज होइन, विचार, नीति र कार्यक्रमको आधारमा हुनुपर्नेमा जोड दिए।
‘निर्वाचन दुस्मनी मोल्ने मैदान होइन, विचारको अभ्यास हो,’ भन्दै उनले काँग्रेस प्रेम, सहिष्णुता र सामाजिक सद्भावको राजनीतिमा विश्वास गर्ने स्पष्ट पारे। जनतालाई भाषणभन्दा कामका आधारमा मूल्यांकन गर्न आग्रह गर्दै उनले देश सञ्चालन अनुभव र क्षमतासँग जोडिएको जिम्मेवारी भएको उल्लेख गरे।
‘जेनजी आन्दोलन’पछि पार्टी विधानमै सुधार गरिएको दाबी गर्दै उनले राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था समावेश गरिएको बताए। साथै, निर्वाचनपछि राष्ट्रिय मुद्दामा दलहरूबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।





