काठमाण्डौं, १३ फागुन । काठमाण्डौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले उम्मेदवारी फिर्ता लिएका छन् । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका सिम्खडाले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएका घोषणा गरेका हुन् ।
सिम्खडाले पूर्व राजा ज्ञनेन्द्र शाहले फागुन ६ गते राष्ट्रका नाममा गरेको सम्बोधनप्रति समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पूर्व राजा शाहले वर्तमान राष्ट्रिय संकट, राजनीतिक अस्थिरता तथा व्यापक जनअसन्तुष्टिका बीच चुनाव गर्नु उचित नहुने संकेत सम्बोधनमार्फत गरेका थिए ।
सिम्खडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनले मुलुकलाई विद्यमान राजनीतिक संकटबाट निकास दिन नसक्ने निष्कर्षमा पुग्दै, काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार म रुपक सिम्खडा, पूर्व राजा ज्ञनेन्द्र शाहको फागुन ६ गते राष्ट्रका नाममा गरिएको सम्बोधनप्रति समर्थन जनाउँदै आजैको मितिबाट निर्वाचन बहिष्कार गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’
सिम्खडाले यो कदम शान्तिपूर्ण राजनीतिक असहमति र वैधानिक अभिव्यक्तिको अधिकार अन्तर्गत लिइएको समेत बताएका छन् ।





