काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले आज सुर्खेत र बाँके मा चुनावी सभा आयोजना गर्दैछ।
कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार मध्याह्न साढे १२ बजेपछि वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा सभा सुरु हुनेछ। सभालाई पार्टी सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसाल ले सम्बोधन गर्ने कार्यक्रम छ।
सुर्खेतको सभा सकेपछि कांग्रेस टोली आजै बाँके–३ अन्तर्गत जानकी गाउँपालिका–३, मानपुरमा पुग्नेछ। बाँके–३ का उम्मेदवार तथा प्रदेश सभापति अमरसिंह पुन को सचिवालयले दिउँसो १: ३० बजे मानपुरमा सभा हुने पुष्टि गरेको छ। उनका स्वकीय सचिव अनुपम जीसीका अनुसार मानपुरको सभालाई पनि सभापति थापाले सम्बोधन गर्नेछन्।
यसैबीच, कांग्रेसले शुक्रबार बुटवल मा समेत चुनावी सभा गर्ने तयारी गरेको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले विभिन्न जिल्लामा शीर्ष नेताहरूलाई उतारेर अभियान तीव्र बनाएको छ।





