काठमाडौं, १२ असार । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले जनाएको छ।
ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा खुलेको थियो। जसमा उनको समेत मिलेमतोको रहेको भन्दै सिआइबीले पक्राउ गरेको हो ।
शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले पुष्टि गरिन्। शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।
गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए। यो प्रकरणमा भाटभटेनीका संचालक मीनबहादुर गुरुङसहित सात जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र गोपाल कार्कीलाई मंगलबार पक्राउ गरिसकेको छ।





