काठमाडौं, १८ फागुन । मध्यपूर्वमा पछिल्लो समय विकसित घटनाक्रमपछि समस्यामा परेका नेपालीको सहयोगका लागि नेपाली कांग्रेसले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।
विभिन्न देशमा रहेका नेपालीहरू राहत, स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता परेको अवस्थाबारे जानकारी आएपछि कांग्रेसले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको सभापति गगन थापाले जानकारी गराएका छन्।
नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण यहाँ रहेका समेत प्रभावित भएको भन्दै सरकारलाई तीव्र ढङ्गले काम गर्न ध्यानाकर्षण गराएका छन्।
उनले भनेका छन्, ‘सरकारले आफ्नो तवरले काम गरिरहेको छ। त्यसमा सबैलाई थप आवश्यक सहयोग पुऱ्याउन हामीले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएका छौँ। यस प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली सङ्घका साथीहरूले आवश्यक समन्वय गरिरहनुभएको छ।’





