काठमाडौँ, १८ फागुन । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना।७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ।
दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक जना अधिकृतले बताए ।
सेनाको हेलिकप्टर मन्थलीमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो । सडकमा मोड नपुगेर दुर्घटना हुँदा चालक सहितका ९ जना घाइते भएका हुन् ।





