नुवाकोट–१ मा पराजितपछि प्रकाशशरणको प्रतिक्रिया : परिणाम अस्वाभाविक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि प्रकाशशरण महत ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसपटकको निर्वाचन परिणामलाई ‘अस्वाभाविक’ भएको टिप्पणी गर्दै स्थापित राजनीतिक दलप्रति मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग तथा भदौ २३ गतेको घटनाको प्रभावलाई हारका प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्।

महतले नुवाकोट–१ मा आफ्नो पराजय स्वीकार्दै प्रतिकूल परिस्थितिका बाबजुद पनि आफू र आफ्नो पार्टीलाई विश्वास गरी मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचन प्रचारप्रसार अभियानमा सक्रिय रूपमा खटिएका पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै उनले विजयी उम्मेदवार विक्रम तिमिल्सिना लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

आइतबार राति सम्पन्न अन्तिम मतगणनाअनुसार विक्रम तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी प्रकाशशरण महत ले १८ हजार ५९७ मत प्राप्त गरेका छन्।

त्यस्तै हितबहादुर तामाङ ले १३ हजार ३७७ मत ल्याएका छन् भने बद्री मैनाली ८ हजार ९३२ मतमा सीमित भएका छन्।

नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा जित निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले यसपटक ‘क्लिन स्वीप’ गर्न सफल भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्