साफ च्याम्पियनसिपमा पाकिस्तानमाथि नेपालको जित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ असार । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।

नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो ।

खेलको ८० औं मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरे । आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।

आशिषको गोल बाहेक नेपालले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । पाकिस्तानले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यस जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

समूह ‘ए’ मा रहेको नेपालको पहिलो जित हो । तर, नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले ३ खेलमा ३ अंक जोडेको छ  । नेपाल तेस्रो स्थानमा रह्यो ।

पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ  । पाकिस्तान पुछारमा रह्यो ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।

कुवेत र भारत आज राति भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी