काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका कोइरालाले खर्चको विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा बुझाएका हुन्।
कोइरालाले निर्वाचनमा २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको विवरण बुझाएका छन् ।
मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको देखाइएको छ।
निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार, गाडीको इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम कोइरालाको तर्फबाट बिहीबार आयोगमा उक्त खर्च विवरण बुझाइएको हो।





