यो अवसर त्यतिकै आएको होइन, हामी ‍बढी गम्भीर बन्नुपर्छ : डीपी अर्याल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफूहरूले चुनाव जिते पनि देश र जनताले जित्न बाँकी रहेको बताएका छन्।

ललितपुरमा शुरु भएको पार्टीको अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले देशमै रहेर पनि आफ्ना अधिकार उपभोग गर्न नपाएका र विदेशिएका लाखौँ नेपालीको अपेक्षा पूरा गर्ने अवसर र चुनौती रास्वपाका सामु आएको बताए।

‘यसपालिका निर्वाचन पुराना राजनीतिक दल र नेताप्रतिको वितृष्णाको मात्र नभई जनताले रवि र बालेनलाई गरेको विश्वास र आफूहरूले गरेको मेहेनतको परिणाम भएको उनले बताए। ‘तपाइँहरूलाई अवसर दिन्छौँ भनेर जनताले एकपटक मौका दिएका हुन्’, उनले भने, ‘हामी अरु जिम्मेवार बन्नुपर्छ। हाम्रा लागि यो मौका त्यतिकै आएको होइन। सबै सदस्यले गम्भीर रूपमा लिनुपर्नेछ।’

उनले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न सांसदहरूलाई आग्रह गरे। हाम्रा हरेक कार्य जनताले हेरिरहेका हुनेछन्। यो इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न सकेनौँ भने आफैँले आफूलाई माफ गर्न कठिन हुनेछ’, उनले भने।

अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको पनि उनले बताए। उनले सबै निर्वाचित प्रतिनिधिसभा सदस्यलाई गम्भीर रूपमा तयारी गर्न पनि पनि आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्