काठमाण्डु असार १३ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले नगरबासीलाई शुद्ध खानेपानी खुवाउने आफनो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । प्रमुख रिसालले आज मेलम्ची र सुन्दरीजलको खानेपानी नगरबासीलाई खुवाउनु पर्ने मागसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशनसहितको पत्र बुझाएको जानकारी छ ।
प्रमुख रिसालले मेलम्चीको सुन्दरीजलको खानेपानी नगरपालिकाको बाटो हुदै अन्य ठाउँमा लगिने भए पनि गोकर्णेश्वरका नगरबासीले शुद्ध पानी पिउन नपाएको समेत गुनासो गर्नुभएको छ ।
साथै उहाँले यदि मेलम्चीको पानी अन्यत्र लैजाने तर गोकर्णेश्वर नगरबासीलाई बेवास्ता गर्ने गरेको खण्डमा अबरोध समेत सिर्जना हुन सक्ने भन्दै कार्यालयमै गएर ध्यानाकर्षण समेत गराएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट वितरण हुने सुन्दरीजलको खानेपानी र मेलम्चीको खानेपानी सम्बन्धमा यस नगरपालिकाको वडा नं १,२,३ र ४ सम्म खानेपानी वितरण भई रहेको र अझै केहि स्थानमा वितरण हुन बाँकी रहेको र वडा नं ५, ६,७,८,र ९ (जोरपाटी आसपासका) वडाहरुको लागि मेलम्ची र सुन्दरीजलको खानेपानीको लाइनबाट वितरण हुने व्यवस्था मिलाई दिन प्रमुख रिसालले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाइ पत्र बुझाएको हो ।






