राटोपाटीको समाचारप्रति पूर्व मन्त्री राजिव गुरुङको गम्भीर ध्यानाकर्षण, ‘भ्रम फैलाउने प्रयास’ भएको आरोप

भ्रम फैलाउने गतिविधिबाट वाक्क भएर नै सरकारले सरकारी विज्ञापन दिन मान्यता नदिने निर्णय गरेको हुनसक्ने गुरुङ ठम्याइ छ ।

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२३ चैत, काठमाडौं । गण्डकी प्रदेशका पूर्व मन्त्री एवं सांसद राजिव गुरुङले अनलाइन मिडिया राटोपाटीमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन्।

राटोपाटीले ‘दुई दिनमा ३३ ‘गुण्डा’ हिरासतमा, मनाङे छुटेपछि सल्बलाएको प्रहरीको निष्कर्ष’ भन्ने आशयको समाचार प्रकाशित गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। उनले उक्त समाचारले आफ्नो चरित्रमाथि आँच पुर्‍याउने र समाजमा भ्रम फैलाउने उद्देश्य राखेको आरोप लगाएका छन्।

गुरुङले राटोपाटी नामको अनलाइन मिडियाबाट ‘दुई दिनमा ३३ ‘गुण्डा’ हिरासतमा, मनाङे छुटेपछि सल्बलाएको प्रहरीको निष्कर्ष’ शीर्षकमा केही समयअघि प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। विषयको गहिराइ र सत्य–तथ्य पहिचान नगरी यस किसिमका समाचार सम्प्रेषण गरिनु पत्रकारिताको मर्मविपरीत भएको उनको भनाइ छ।

यस्तै गतिविधिबाट वाक्क भएर नै सरकारले सरकारी बाहेकका अखबारलाई सरकारी विज्ञापन दिन मान्यता नदिने निर्णय गरेको हुनसक्ने उनको ठम्याइ छ।

आफ्नो सन्दर्भमा कुनै सूचना वा सामग्री आवश्यक परेमा आफूलाई नै सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।

समाचारमा उल्लेख गरिएजस्तो आफ्नो कुनै सहभागिता वा संलग्नता भए पुष्टि गरेर देखाउन उनले चुनौती दिएका छन्। अरूको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री प्रकाशन नगर्न सम्बन्धित सबैलाई उनले सचेत गराएका छन्।

पूर्व मन्त्री गुरुङले आफूविरुद्ध फैलाइएको गलत सन्देश सच्याउन सम्बन्धित निकाय र मिडियालाई जिम्मेवार बन्न पनि आग्रह गरेका छन्।

राटोपाटी संवाददाताले उक्त समाचार आइतबार, २२ चैत २०८२ गते प्रकाशित गरेका थिए। सोही समाचारप्रति गण्डकी प्रदेशका पूर्व मन्त्री एवं सांसद राजिव गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

पछिल्लो दुई दिनमा काठमाडौँ उपत्यकामा सक्रिय ३३ जना गुण्डाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

चैत २० र चैत २१ मा अपरेशन चलाएर प्रहरीले गुण्डाहरू पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गुण्डागर्दीमा संलग्न ३३ जना हिरासतमा छन्।यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी छ।

प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ। यसअघि पनि पक्राउ परेकाहरूलाई ‘पटके’ कायम गरेर कसुर मागदाबी गर्दै अदालतमा मुद्दा लैजाने तयारी भइरहेको छ।

यसैबीच, ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद भुक्तान गरेर फागुन २७ मा डिल्लीबजार कारागारबाट छुटेका दीपक मनाङे (राजिव गुरुङ) को विषय पनि चर्चामा आएको छ। यही विषयमा दीपक मनाङे, जसको वास्तविक नाम राजिव गुरुङ हो, सँग जोडेर राटोपाटीले समाचार प्रकाशित गरेपछि उनले आपत्ति जनाएका हुन्।

उसो त दीपक मनाङे, जसको वास्तविक नाम राजिव गुरुङ हो, गण्डकी प्रदेशका पूर्व सांसद तथा पूर्व मन्त्री हुन्। उनी विगतमा गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका व्यक्ति मानिन्छन् र विभिन्न आपराधिक मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी