राजावादी आन्दोलनमा भारतको कुनै समर्थन छैन:देउवा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ चैत ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताउएका छन ।

गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरुको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए । नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गर्नुभएको प्रतिवद्धताप्रति उनले धन्यवाद दिए । सभापति देउवाले नेपाल–भारतबीचको सम्बन्ध निकै प्रगाढ र राम्रो रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । उनले गणतान्त्रीक व्यवस्थालाई सुदृढ पार्नका लागि आफुहरु लागिपरेको उल्लेख गरे ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन प्रजातन्त्रले महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन । लोकतान्त्रीक गणतन्त्रलाई सुदृढ पार्ने अभियानमा आफुहरु रहेको भन्दै उनले लोकतन्त्रमा आलोचना हुने बिषयलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे । उनले जनताको असन्तुष्टिलाई भड्काउने र धमिलो पानीमा माछा मार्ने प्रयास अनुचित भएको बताए ।

त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा चन्द्रशेखरले ठूलो बल दिएको उनीहरुको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी