महासंघद्वारा म्यानमारका भूकम्पपीडितलाई राहत सामग्री हस्तान्तरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

२७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भूकम्पपीडितलाई वितरण गर्न सरकारलाई राहत सामग्री हस्तान्तरण गरेको छ। महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधिमार्फत राहत सामग्री हस्तान्तरण गरेका हुन्।

महासंघले राहतस्वरूप चामल, मसुरो दाल, भाडाँकुडा सेट, लामखुट्टे झुल, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेपलगायत सामग्री उपलब्ध गराएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनामा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघ अध्यक्ष चन्द्र ढकालले बताए।

चैत १५ मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो धनजनको पुगेको छ। हालसम्म करिब ३ हजार ५ सयले ज्यान गुमाएको म्यान्मार सरकारले जनाएको छ।

चैत २१ मा परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पीडितका लागि राहत पठाउने निर्णय भएको थियो।

सरकारले म्यानमारका भूकम्पपीडित नागरिकका लागि आज राहत सामग्री पठाउँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार ४१ टन बराबरको राहत सामग्री लिएर नेपाल वायुसेवाको चार्टर्ड विमान म्यान्मार जाने भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्